कबिता : दाजै र सपनाहरु

एक गुन्टा सपनाहरु झोलाभर खादेर
काठमान्डु छिरेका छिमेकी दाजै
वर्षौ देखि उतै छन
परार साल खबर आथ्यो
डिग्री पास गरे अरे
गाउँभर तारिफ भएथ्यो ।
त्यो पछि कुनै खबर आएन केहि वर्ष ।
आज एक्कासी देखिए टेलिभिजनमा
उभिरहेका हजारौँ युवाहरुसँगै
कोरियन लाइनमा
उनै दाजै ।

यता देशतिर
जापानले नेपाली युवा किन्छु भन्नु ।
मेरो सरकार ले ठूलो उपलब्धि मान्नु ।
हजारौँ युवाहरु हर्षित हुनु ।
सायदै संयोग मात्रै हुन सक्छ ।
उता उस्तै देखिन्छ फेसबुकमा
शानदार जीवन बिताउदै छ
पोहोर जापान टेकेको हर्कमान ।

यता बीरवल,
खन्दै गरेको कोदाली थन्काएर
हिड्छन मूल्य सोध्न राहदानीको ।
सहरको चोकचोकमा झुन्डेको छ
गुन्जाउँछ रेडियो, छपाउछ पत्रिका
हरेक राहदानीको एकएक मूल्य
दिराम र रियल, येन र वन, डलर र पाउन्ड ।
सक्दैन तिर्न एक्लो रुपियाँले त्यो मूल्य
हारिरहेछ यो लडाइँ आफ्नै भूमिमा ।

टपक्क टिपेर काखैबाट बेचिन्छन् युवाहरु ।
एक थाक किताब, हातको कलम टोक्दै
दोबाटोबाट चौबाटोमा उभिएको छु म
कोरियन लाइन, जापान र मलेसिया
बाजेको बिरौटो बारी, आमाले बोक्ने डोको
पिटिक्कै आखा जाँदैन बाले जोत्ने हलोतिर ।
कालीखोलाको पानी छुनै मान्दैन यी हात ।
दाजै जसरी थिचिरहेछु सपनाहरुले ।
अल्मलिरहेछु बाटो नपाएर ।
छिमेकी कोप्पा अह्राउछन मलाई
जा नाती काम माग सरकारलाई ।

कोप्पालाई थाहा छैन
सरकार आफै बेरोजगार छ यहाँ ।
काम खोज्दै भौतारिरहेछ ऊ पनि
कहिले रिबन काट्न तछाडमछाड गर्छ ।
हेलिमा पूर्व पश्चिम डुल्छ ।
चर्पी र गोठ उध्घाटनमा सेल्फी मार्छ ।
सदनमा कुर्सी भाच्दै, तान्डव नाच्छ ।
बेरोजगार भएपछि के गर्छ त सरकार रु
ठट्यौली मै पचाई दिन्छ रेमिटान्स ।
होहल्ला र विवादमै गुजार्छ समय ।

चौडा सडक ओगटेर
सिंहदरबार र शितलनिवास चाहार्छ ।
भो, केहि भन्नु छैन सरकार तिमीलाई
हामी दुबै बेरोजारी न हौँ ।
सपनाहरु हजार तुनेर
म जस्तै तिमी नि दोधारमा छौ ।
सरकार आउ सँगसँगै बसेर
चौतारीबाट हेरौँ हामी ।

तिमी पनि त्याग म त्याग्छु
डिग्री दाजैले नि फाके छन
वर्षौ पालेर एक झोला सपनाहरु ।
ढिला हुन्छ जाऔँ उतै
बरु, थपौँ रेमिटान्स ।

निरब राई
दिप्रुङ चुइचुम्मा ३, याङ्सोला खोटाङ ।