मिडिया बिधेयक संसोधनको माग गर्दै सञ्चार सामग्री प्रदर्शन गरेर विरोधमा उत्रिए खोटाङका पत्रकार

प्रभाव न्यूज डटकम संवाददाता, खोटाङ – मिडिया काउन्सिल विधेयक संसोधनको माग गर्दै खोटाङका पत्रकारले सञ्चार सामग्री प्रदर्शन गरेका छन् ।

नेपाल सरकारले ल्याउन लागेको मिडिया काउन्सिल सम्वन्धी बिधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अड्चन सिर्जना गर्ने खतरा रहेको भन्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखाको नेतृत्वमा शुक्रबार दिक्तेलको त्रिबेणीचोकमा सञ्चार सामग्री प्रदर्शन गरिएको हो ।

मन्त्री परिषदबाट पारित भएर संसदमा पेश गरिएको मिडिया काउन्सिल सम्वन्धी विधेयकले स्वतन्त्र पत्रकारिताको मर्ममाथि प्रहार गर्ने देखिएकाले विधेयक संसोधनको माग गरिएको नेपाल पत्रकार महासंघले जनाएको छ ।

कार्यक्रममा जिल्लामा कार्यरत पत्रकारले क्यामेरा, ल्यापटप, रेकर्डर, डायरी, कलम, पत्रिका लगायतका सञ्चार सामग्री प्रदर्शन गरेका थिए । सञ्चार सामग्री प्रदर्शन कार्यक्रमका वक्ताले पितपत्रकारिता निरुत्साहित गर्नका लागि कानून आवश्यक भए पनि हाल ल्याउन लागिएको विधेयकले अशल पत्रकारलाई समेत अशर पर्ने बताएका छन् । अग्रज पत्रकारहरुले सो विधेयक हुवहु कार्यान्वयन भएको अवस्थामा भ्रष्टाचार र अनियमितताका विषयमा गरिने खोजी पत्रकारिता निरुत्साहित हुने र पत्रकारिता सत्ता र शक्तीको गुनगानतर्फ डोरिने खतरा औंल्याएका छन् ।

कार्यक्रमलाई पत्रकार महासंघका अध्यक्ष दमन राई, कृष्ण आचार्य, डम्बरसिं राई, उजुर राई, दिलीप खत्री लगायतले लोकतन्त्रको आधारभुत मूल्याको रुपमा स्थापित प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामै बाधा पुग्ने स्थिति देखिएको बताएका छन् । सामग्री प्रदर्शनसंगै मन्तव्य कार्यक्रमको संचालन शाखाका सचिव उत्तम चौलागाईंले गरेका थिए ।
पत्रकारिताको नाममा मनपरी लेख्ने पत्रकारलाई ठेगान लगाउने सन्दर्भमा कानून उचित देखिए पनि समग्र पत्रकारलाई एउटै भाँडामा राखेर हेर्न उचित नहुने पत्रकार महासंघले जनाएको छ ।