नगरलाई शैक्षिक सुधार वर्षको रुपमा रुपान्तरण गरिने

खोटाङ- शैक्षिक वर्ष २०७६ लाई ‘शैक्षिक सुधार वर्ष’का रुपमा रुपान्तरण गरिने सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले गरेको १ दिने अन्तरक्रियामा नगरपालिकाभीत्र रहेका सरोकारवाला व्यक्तिहरुले कुनै कसर वाँकी नराखी यस वर्षलाई शैक्षिक सुधार वर्षमा रुपान्तरण गर्ने प्रतिबद्धता जनाएका हुन् ।

आईतबार गरिएको अन्तरक्रियामा उपस्थित भएका ८७ वटा विधालयका विव्यास अध्यक्ष, प्रधानाध्यापक, शिक्षक महासंघका पदाधिकारीहरु, पेशागत संघ, संगठनका शिक्षकहरुले नगर शिक्षा समितिले निकालेको २३ बुदे प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेर प्रतिबद्धता जनाएका नगरपालिकाले जनाएको छ । नगर शिक्षा समितिले निकालेको प्रतिबद्धता पत्रमा विधालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघले नियमित अनुगमन गरी प्रतिवेदन नगरपालिकामा पेश गर्ने, विधालय शिक्षा सम्बन्धि अभिभावकको भूमिका वढाउन तालिम गोष्ठीको व्यवस्था नगरले गर्ने, नगरको सम्पुर्ण गतिविधिमा शैक्षिक गतिविधि जोडेर लैजाने, पाठ्यक्रमको पुर्ण अध्ययनगरी शैक्षिक योजना र पाठ योजना बनाउने, सोही वमोजिम कोर्ष पुरा गर्ने र विधार्थीलाई प्रशस्त लिखित अभ्यास गर्ने/गराउने, ई–हाजिरी जडान गरिएको विधालयको सोही वमोजिम माग फारमसँग ई-हाजिरी प्रिन्ट पेश गर्ने र अनुपस्थित शिक्षकको तलब माग गरिएमा प्रअलाई सार्वजनिक कारवाही गरिने उल्लेख छ ।
यस्तै, नगरको शैक्षिक क्यालेण्डरलाई कार्यन्वयनमा ल्याई सो अनुसारको वार्षिक कार्यक्रम गर्ने, तोकिएको सरदर सिकाई उपलब्धि भन्दा कम शिक्षक उतिर्ण हुने शिक्षकको सेवा सुविधा तोकिए वमोजिम कटौती गरीदै लैजाने, विधालयले गरेको अभ्यास, अनुसन्धान अनुभवको अरु विधालयले पनि अनुसन्धान गर्ने/गराउने, सार्वजनिक विधालयका शिक्षकहरुले सम्भव भएसम्म आफूले पढाउने विधालयमा पढाउने, अति आवश्यक काममा वाहेक विधालय परिसरमा शिक्षक, विधार्थीलाई मोवाईल प्रयोग गर्न निषेध गर्ने/गराउने, विधालय परिसर कक्षाकोठा र शौचालय सफा राख्ने लगायतका बुंदाहरु समावेश गरिएको छ । करीव दुई सय जना सरोकारवालाबिच भएको निचोडले शिक्षामा अझ परिवर्तन आउने अपेक्षा गरिएको नगर प्रमुख इवन राईले बताए ।