पूर्वी क्षेत्रमा शुक्रबार र शनिबार हेलिकोप्टर उडान नगर्न गृह मन्त्रालयको आग्रह

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्र (एनइओसी) ले देशका पूर्वी भागमा शुक्रबार र शनिबार हेलिकोप्टर उडान नगर्न आग्रह गरेको छ।

मौसम बदली हुँदा हिमाली भेगमा हिमपात हुनसक्ने र भारतमा आएको फानी आँधीको प्रभाव पनि पर्न सक्ने भएकोले शनिबारसम्म हेलिकोप्टर उडान नगर्न आग्रह गरेको हो।

‘पूर्वी हिमाली क्षेत्रमा ठूलो हिमपात हुनसक्ने हुँदा सो क्षेत्रमा अहिले देखि भोलि दिनभरसम्म हेलिकप्टर उडान नगर्नु/ नगराउनुहुन र पर्यटक एवं यात्रुहरूले सुरक्षित स्थानमा रहनु हुन अनुरोध छ,’ केन्द्रले भनेको छ।

साथै मौसम पूर्वानुमान महाशाखाले शुक्रबारदेखि शनिबारसम्म घामपानी भइराख्ने जनाएको छ। हावाहुरी, मेघ गर्जनसहित पानी पर्ने र आइतबारदेखि पूर्णरुपमा मौसममा सुधार आउने महाशाखाको भनाइ छ।