पार्टीहित विपरीत काम गर्ने विरुद्ध कांग्रेस अनुशासन समितिद्वारा उजुरीमाथि छानबिन सुरु

काठमाडौँ– नेपाली कांग्रेसको अनुशासन समितिले उजुरीमाथि छानबिन सुरु गरेको छ।

गत वर्ष भएको संघ, प्रदेश र स्थानीय तहको चुनावमा पार्टीका आधिकारिका उम्मेदवारलाई हराउन र पार्टीहित विपरीत काम गर्नेविरुद्ध उपरेको उजुरीमाथि अनुशासन समितिले सोमबारदेखि छानबिन सुरु गरेको हो।

भीष्मराज आङदाङ्वेको अध्यक्षतामा समिति गठन भए पनि गएको चैत १२ गते पार्टी नीति विपरीत काम गर्नेको सूचना दिन आह्वान गरेको थियो। एक दुई सय १३ वटा उजुरी दर्ता भएको र तीन उजुरीमाथि एक एक गरी अध्ययन सुरु गरिएको समितिका सदस्य देवेन्द्रराज कँडेलले जानकारी दिए।

नयाँ अनुशासन समिति गठन हुनुभन्दा अघि दर्ता भएका उजुरीमाथि पनि छानबिन गर्ने निर्णय भएको छ । समितिले एक नम्बर प्रदेशको मोरङ र इलाम जिल्लाबाट आएका उजुरी सोमबार खोलेको छ ।

दर्ता भएका उजुरीलाई एकसरो अध्ययन गरर खारेज गर्नुपर्ने, थप अनुसन्धान गर्नुपर्ने, तामेलिमा राख्नुपर्ने विभिन्न क्याटागोरी वर्गिकरण गर्ने समितिका अर्का सदस्य धनराज गुरुङले जानकारी दिए । समितिले उजुरी कर्ता र दोषीलाई समेत बोलाएर अदालती प्रक्रियाअनुसार नै छानबिन गरेर निर्णय पुगिने गुरुङले बताए ।