मङ्लबार, साउन ७, २०७६
Tuesday, Jul 23, 2019
Prabhav News

गाउँपालिकाको कामलाई थप सुधारका लागि सुझाव लिन सार्वजनिक सुनुवाई कार्यक्रम



गाउँपालिकाको कामलाई थप सुधारका लागि सुझाव लिन सार्वजनिक सुनुवाई कार्यक्रम

खोटाङ –  ‘गाउँपालिकामा १५ शैयाको अस्पताल कहिले बन्छ ? प्रतिवटा ५० हजारको बोयर बोका खरिद गरिएको रहेछ, त्यो बोका कत्रो छ ? हामीलाई देखाउन प-यो,’ यो प्रश्न दिप्रुङ चुइचुम्मा गाउँपालिकाका–५ सछितापोखरीका भक्तराज दाहालको हो । आर्थिक वर्ष २०७४/०७५ र २०७५/०७६ को हालसम्मका प्रगतीका विषयमा दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीका भीडबाट उभिएर दाहालले गाउँपालिका प्रमुख भूपेन्द्र राई, उपप्रमुख सपना राई र वडाध्यक्षतर्फ प्रश्न तेस्र्याएका हुन् । ‘रातामाटा–खानीडाँडा सडक निर्माणमा कति खर्च भयो ? आफन्तलाई मात्र शिक्षकमा नियुक्ती गरिएको सुनिन्छ वास्तविकता के हो ? दाहालले प्रश्न वर्षाइरहे, ‘किन आफ्नो पार्टीका मान्छेलाई मात्र योजना दिने गरिन्छ ?,’

यस्तै, भीडबाट हात उठाएकी दिप्रुङ चुइचुम्मा गाउँपालिकाका–३ छोरम्बुकी अशोककुमारी राईले रेग्मीटार–जिरी सडक निर्माणका लागि विनियोजित बजेट थाहै नदिइ निकालेको भन्दै प्रश्न गरिन् । ‘यो सडक निर्माण उपभोक्ता समितिको कोषाध्यक्ष म हुँ तर मलाई थाहै नदिइ खाता खोलेर पैसा निकालिएको छ,’ राईले प्रश्न गरिन्, ‘के महिला भनेर हेपेको हो ? महिलालाई सँधै दवाएर राख्न खोजिएको हो ?,’
सहभागी रणबहादुर खड्काले खानेपानीको पाईप वितरणमा अपनाइएको मापदण्डका बारेमा स्पष्ट पार्न गाउँपालिका प्रमुखलाई प्रश्न गरे । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाईमा उनीहरुजस्ता ३० जनाभन्दा बढि सर्वसाधारणले जनप्रतिनिधि र विषयगत शाखाका प्रमुखमाथि प्रश्न उठाएका छन् । मञ्चमा जवाफदेहीपक्ष भएर बसिरहेका गाउँपालिका प्रमुख, उपप्रमुख, ७ वडाका वडाध्यक्ष, विषयगत शाखाका प्रमुखमाथि कतिपय सहभागीले हात उठाएर माइक्रोफोनमार्फत प्रश्न गरे भने बोल्न नचाहले कतिपयले लिखितरुपमा प्रश्न उठाएका छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद दाहालले आर्थिक वर्ष २०७४/०७५ को प्रगती विवरण र आर्थिक वर्ष २०७५÷०७६ को हालसम्मको प्रगती विवरण प्रस्तुत गरेपछि सवाल–जवाफको श्रृंखला सुरु गरिएको थियो । गुनासो पोख्नकै लागि घण्टौं हिँडेर आएका पालिकाबासीले सडक, शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानी, पर्यटन, सूचना/सञ्चार, सिँचाई, युवा तथा खेलकुद, वन तथा वाताबरण, न्याय सेवा, सुशासन लगायतका विषयमाथि केन्द्रित रहेर प्रश्न गरे, गुनासो राखे र कतिपयले सुझाव पनि दिए । सहभागी भूमीराज राईले स्थानीय सरकार आएपछि टोल–टोलबाट योजना छनौट गर्ने प्रकृया मिचिएको भन्दै ध्यानाकर्षण गराए । बालकुमारी सिग्देलले स्थानीय सरकार आएपछि महिलाको बजेट बढ्नुको सट्टा घटेको गुनासो गरिन् । ढाकमान लामाले सानो पार्टीलाई विभेद नगर्न जनप्रतिनिधिको ध्यानाकर्षण गराए । कार्यक्रम अघि र कार्यक्रमकैक्रममा बाँडिएका प्रगती विवरणको सूची अध्ययन गर्दै सहभागीले प्रश्न उठाएका हुन् । रोचक त जनप्रतिनिधिलाई आफ्नै भोटर र कार्यकर्ताले बढि प्रश्न गरेको देखिएको छ ।

सार्वजनिक सुनुवाईकाक्रममा विभिन्न वडामा भएका कतिपय योजनाको अझै पनि सम्झौता नभएको भन्दै प्रश्न उठेको छ । प्रतिवडा ३५ लाखका दरले वजेट विनियोजन भए पनि हालसम्म बढिमा १७ लाख बराबरको मात्र काम भएको भन्दै वडाध्यक्षको कार्यक्षमतामाथि प्रश्न उठेको हो । दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ मा सवैभन्दा बढि १७ लाख ४५ हजारको काम हुँदा दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ मा ८१ हजार ५ सय मात्र खर्च भएको पाइएको छ । स्थानीय सरकारकातर्फबाट भइरहेका कामलाई थप सुधारका लागि सुझाव लिन सार्वजनिक सुनुवाई गरिएको गाउँपालिका प्रमुख राईले बताए । ‘हामीले त राम्रो गरिरहेका छौँ भन्छौँ, तर साँच्चै जनताको नजरमा कस्तो काम गरिरहेका छौँ भन्ने बुझाईका लागि समेत सार्वजनिक सुनुवाई महत्वपूर्ण छ,’ गाउँपालिका प्रमुख राईले भने, ‘यसबाट हामी जनप्रतिनिधिले गरिरहेका कामको बारेमा जनतालाई स्पष्ट पार्न र भएका कमीकमजोरी सच्याउने अवशर पाएका छौँ ’ गाउँपालिकाले आर्थिक वर्ष २०७४/०७५ मा भुक्तानीमा कडाई गरेर विभिन्न योजनाबाट १ करोड ६ लाख ९२ हजार ९५०, चालु खर्चतर्फ १ करोड ३७ लाख ३० हजार ६८९ र कन्टेन्जेन्सीबाट २२ लाख ४७ हजार १ सय रकम संकलन गरेर संचित कोषमा जम्मा गरिएको जानकारी दिएको छ ।

सार्वजनिक सुनुवाईमा आउन निमन्त्रणा

सार्वजनिक सुनुवाईका लागि दिप्रुङ चुइचुम्मा गाउँपालिकाले दुई हप्ताअघि नै वडामार्फत प्रचार–प्रसार गरेको थियो । विकास निर्माण, शिक्षा, स्वास्थ्य, कार्यालयको सेवा प्रवाह लगायतका विषयमा गुनासोका लागि गाउँपालिकाले सार्वजनिक सुचना बाँडेको थियो । कतिपयलाई वडा कार्यालयमार्फत र कतिपयलाई गाउँपालिकामार्फत निमन्त्रणा गरिएको गाउँपालिका प्रमुख राईले बताए ।

प्रकाशित मिति : बिहिबार, चैत्र २८, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology