मङ्लबार, साउन ७, २०७६
Tuesday, Jul 23, 2019
Prabhav News

कम्मरमुनिको अंग नचल्ने समस्याले थलिएका चार दिदीभाइलाई नगरले दियाे उपचार खर्च र परिचयपत्र



कम्मरमुनिको अंग नचल्ने समस्याले थलिएका चार दिदीभाइलाई नगरले दियाे उपचार खर्च र परिचयपत्र

प्रभाव न्यूज डटकम संवाददाता, खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कम्मरमुनिको अंग नचल्ने समस्याले थलिएका एकै परिवारका चार दिदीभाइलाई आर्थिक सहयोग गरेको छ। सुरुमा सपांग भए पनि किशोरावस्थामा पुगेपछि कम्मरमुनिको अंग नचल्ने समस्याले पीडित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका बाबु बीरबहादुर गजमेर र आमा लक्ष्मीमायाँ गजमेरकी माइली छोरी ३० वर्षीया कोपिला, थाइली छोरी २२ वर्षीया अनिशा, ठूली कान्छी छोरी २० वर्षीया मनिषा र कान्छो छोरा १५ वर्षीय चेतराज गजमेरलाई नगरपालिकाले ५० हजार आर्थिक सहयोग गरेको हो।

आर्थिक समस्याका कारण गजमेर दम्पत्तीले अनौंरो रोगबाट पीडित छोराछोरीलाई उपचारमा लैजान नसकेको खबर सार्वजनिक भएपछि नगरपालिकाले विहीबार घरैमा पुगेर आर्थिक सहयोग प्रदान गरेको छ। गजमेर दम्पतीलाई छोराछोरीको उपचारका लागि सहयोग पु¥याउनका लागि नगरपालिकाका तर्फबाट मेयर दिपनारायण रिजाल र उपमेयर बिणादेबी राईले गजमेर दम्पतीलाई नगद रकम हस्तान्तरण गरेका छन्। एउटै परिवारमा एकै प्रकृतिको रोगको कारण चार सन्तान अशक्त बनेको र उपचार गर्न सक्ने आर्थिक अवस्था पनि नभएका कारण सहयोग गरिएको मेयर रिजालले बताए।

तीन दिदीबहिनीलाई अपांगताको परिचयपत्र

नगरपालिकाले कम्मरमुनिको भाग नचल्दा अपांग बनेकी माइली कोपिला, थाईली अनिशा र ठूली कान्छी मनिषालाई अपांग परिचयपत्र प्रदान गरेको छ। कोपिलालाई पूर्ण अपांगताको तथा अनिशा र मनिषालाई ‘ख’ बर्गको अपांगताको परिचयपत्र प्रदान गरिएको हो। शारीरिक अशक्तताका कारण हालसम्म अपांगताको परिचयपत्र पाउन नसकेका कोपिलाले मासिक २ हजार तथा अनिशा र मनिषाले मासिक जनही ६ सयका दरले सामाजिक सुरक्षा भत्ता पाउने बाटो खुलेको छ। अरुको साहराबिना हिँडडुल गर्न नसक्ने तीन दिदीबहिनीलाई ह्वील चेयर प्रदान गरिने मेयर रिजालले बताए। ‘बसेर काम गर्न सक्ने भएकाले अनिशा र मनिषालाई ढाका बुनाई सम्बन्धी तालिमका साथमा आवश्यक सामग्री प्रदान गरिने छ’, मेयर रिजालले भने, ‘आफै हिँडडुल गर्नका लागि ह्वील चेयर उपलब्ध गराउने छौं।’

प्रकाशित मिति : बिहिबार, चैत्र २१, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology