सहकारी दिवसको अवशरमा सरसफाई

प्रभाव न्यूज डटकम संवाददाता, खोटाङ  – सहकारी दिवसको अवशरमा खोटाङमा धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी र गढी जाने बाटो सरसफाई गरिएको छ । ६२ औं राष्ट्रिय सहकारी दिवसको अवशरमा सोमबार बिहान दिक्तेलको हाटडाँडाबाट मझुवागढी जाने बाटो र मझुवागढी आसपासको फोहोरमैला हटाइएको हो ।

जिल्ला सहकारी संघको आयोजनामा भएको सरसफाई कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल, उपप्रमुख विणादेवी राई लगायत हातमा कुचो बोकेर फोहोर बढार्दै मझुवागढी पुगेका थिए ।

‘दिगो लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने नाराका साथ तीन दिनसम्म मनाइने दिवसको पहिलो दिन सरसफाई गरिएको सहकारी संघका अध्यक्ष अनिल जोशीले बताए । सहकारी दिवसकै अवशरमा मंगलबार बिहान हलेसी सामुदायिक अस्पतालमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।