ढिलासुस्ती गर्ने ठेकेदारलाई ‘र्‍याख र्‍याख्ती’ पारिएपछि….

प्रभाव न्यूज डटकम संवाददाता, खोटाङ – खोटाङमा सडक तथा पुल निर्माणको काममा ढिलासुस्ती गर्ने ठेकेदारलाई ‘र्‍याख र्‍याख्ती’ पारिएको छ । मध्यपहाडी लोकमार्ग लगायतका राष्ट्रिय महत्वका सडक तथा पुल निर्माणको काममा चरम ढिलासुस्ती भएको र बनेका संरचना पनि कमजोर भएको जनगुनासो आएपछि सोमबार जिल्ला समन्वय समितिले बोलाएको छलफलमा उपस्थित ठेकेदारमाथि प्रश्न वर्षाइएको हो ।

मध्यपहाडी लोकमार्ग अन्तरगत हलेसी–बिजुले, बिजुले–हुर्लुङ, हुर्लुङ–दिक्तेल र दिक्तेल–चखेवाभञ्ज्याङ सडक कालोपत्रे, महुरे–फोक्सिङटार सडक कालोपत्रे, बतासे र राजापानी जोड्ने साप्सु खोलाको सडक पुल, साप्सु खोलाकै मात्तिम र लफ्याङ जोड्ने सडक पुल, मनमायाँ राई खानीडाँडा बिमानस्थल मर्मत लगायतका ठूला आयोजनाको काममा ठेकेदारको चरम ढिलासुस्ती र गुणस्तरहिन काम भएको भन्दै गुनासो आएपछि जिल्ला समन्वय समितिले सम्वद्ध निर्माण कम्पनीका प्रमुख तथा प्रतिनिधिलाई छलफलका लागि बोलाएको थियो ।

बैठकमा उपस्थित जनप्रतिनिधि, नेता, स्थानीय लगायतले सडक, पुल, भवन निर्माणमा भइरहेको ढिलासुस्ती र गुणस्तरहिन कामका बिषयमा निर्माण कम्पनीका प्रतिनिधिमाथि कारबाहीको माग गरेका छन् । योङ कम्यूनिष्ट लिग खोटाङका अध्यक्ष मिलनचन्द्र राईले अटेर गर्ने ठेकेदारलाई कानूनी दायरामा ल्याउन माग गर्नुभयो ।

सडक तथा पुल निर्माणको अवस्थाका बिषयमा योङ कम्यूनिष्ट लिगका अध्यक्ष राईले युवा संघ र योङ कम्यूनिष्ट लिगकातर्फबाट पावरप्वन्टमार्फत सडक तथा पुलको तस्बिर र विवरण सहित प्रस्तुती गरेर निर्माण कम्पनीमाथि प्रश्न उठाउनु भएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले ढिलासुस्ती गर्ने र गुणस्तहिन काम गर्ने ठेकेदारलाई स्थानीय सरकारले नछाड्ने चेतावनी दिनुभयो ।

सबैभन्दा ढिलासुस्ती गर्ने ठेकेदार नै अनुपस्थित

जिल्ला समन्वय समिति खोटाङले सडक, पुल लगायतका भौतिक संरचना निर्माणको काममा ढिलासुस्ती गर्ने सबै ठेकेदारलाई छलफलमा बोलाए पनि अधिकांश ठेकेदारको अनुपस्थिति देखिएको छ । दर्जनौं सडक तथा पुलको काम भइरहेको भएपनि छलफलमा पाँच जना निर्माण व्यवसायी मात्र उपस्थिति भएका छन् ।