खोटाङमा ‘मानव अधिकारको अवस्था सन्तोषजनक देखिएन’

खोटाङ– खोटाङमा मानव अधिकार कार्यान्वयनको अवस्था सन्तोषजनक नरहेको एक कार्यक्रमका सहभागीले बताएका छन् । मानव अधिकारको अवस्थाका बारेमा जानकारी लिनका राष्ट्रिय मानव अधिकार आयोगले सोमबार दिक्तेलमा आयोजना गरेको अन्तरक्रीया कार्यक्रममा सहभागीले जिल्लामा मानव अधिकारको अवस्था ‘सुधारोन्मुख भए पनि सन्तोषजन नरहेको’ बताएका छन् ।

होटल इन्द्रेणीमा भएको कार्यक्रममा सहभागी मानव अधिकार रक्षक, नागरिक समाजका अगुवा लगायतले जिल्लाको समग्र मानव अधिकारको अवस्था, आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार, सामुहिक अधिकार, मानव अधिकार रक्षकको अधिकारको अवस्था र जातीय विभेद तथा छुवाछुतको अवस्था सुधारोन्मुख मात्र रहेको औल्याएका छन् । पुर्वसभाषद एबं अधिकारकर्मी दुर्गाजयन्ती राईले नागरिकको जीवन अधिकार, यातना विरुद्धको अधिकार, विचार अभिव्यक्ती तथा स्वतन्त्रताको अधिकार, दण्डहिनता र न्यायको अधिकारको अवस्थामा सन्तोष मान्न सक्ने अवस्था नभएको बताउनुभयो ।

यस्तै, नागरिक समाजका हरि राजभण्डारीले जिल्लामा कैंदीबन्दी, गरिबी, खाद्यान्न, श्रम तथा रोजगार, वासस्थान, आप्रवासी कामदार, शिक्षा, स्वास्थ्य लगायत सम्वन्धीको मानव अधिकारको अवस्था सुधारोन्मुख मात्र भन्न मिल्ने अवस्थाको देखिएको बताउनुभयो । ज्येष्ठ नागरिक संघका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले ज्येष्ठ नागरिकले ५० प्रतिशत भाडा छुटको सेवा नपाएको, बाँदरले किसानलाई उठीबास लगाएको भन्दै आयोगको ध्यानाकर्षण गराउनुभयो ।

यस्तै, अन्तरपार्टी महिला सञ्जाल खोटाङकी उपाध्यक्ष मनकुमारी रसाईलीले दलित वडा सदस्य समेत जातीय विभेदको शिकार भइरहेको उल्लेख गर्नुभयो । नेपाल आदिबासी जनजाती महासंघका अध्यक्ष हात्तीराम राईले आदिवासी जनजाती, अपांगता भएका व्यक्ति, अल्पसंख्यक तथा सीमान्तकृत, यौनीक तथा लैंगिक अल्पसंख्यकको अधिकार कार्यान्वयनको अवस्था सन्तोषजनक नदेखिएको बताउनुभयो ।