सोमवार, साउन ६, २०७६
Monday, Jul 22, 2019
Prabhav News

अपडेटः हावाहुरीले ज्यान गुमाउनेको संख्या ३१ पुग्यो, ५ सय बढी घाइते



अपडेटः हावाहुरीले ज्यान गुमाउनेको संख्या ३१ पुग्यो, ५ सय बढी घाइते

काठमाडौं – आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले बारा र पर्सामा ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ । ५०० भन्दा बढी घाइते छन् ।

हावाहुरीले बारामा मात्रै २७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । ठूलो हताहती भएकाले मृतकहरुको पहिचान हुन सकेको छैन ।

दर्जनौं घाइते भएका छन् । घाइतेको संख्या बढेपछि अस्पताल भरिएको र उपचारमा कठिनाइ भएको सरकारी अधिकारीहरुले जनाएका छन् । बिरामीको चापले रगतसमेत अभाव भएको छ ।

पर्सामा अहिलेसम्म ४ जनाको ज्यान गएको सरकारी अधिकारीहरुले जनाएका छन् । यहाँ पनि कैयौं घाइते भएका छन् । हावाहुरी प्रभावितहरुको उद्धारमा उद्धारकर्ताहरु जुटिरहेको त्यहाँबाट हाम्रा सहकर्मी सुरेश बिडारीले जनाएका छन् ।

हावाहुरीले इँटा भट्टाको चिम्नी लडाउनुका साथै गुड्दै गरेको गाडी पल्टिएर तथा विजुलीको पोल ढलेर करेन्ट लाग्दा धेरै मानवीय क्षति भएको हो ।

हावाहुरीले सबैभन्दा ठूलो क्षति बाराको भरवलीयामा भएको छ । राति करीब ८ बजेतिर वर्षासँगै चलेको हावाहुरीका कारण विद्युतको पोल ढलेको थियो । यसले धेरै मानवीय क्षति गराएको छ ।

कतिपय स्थानमा अझै पनि उद्धार जारी छ ।

तराईका धेरै जिल्लाहरु हावाहुरीको चपेटामा परे पनि अन्य जिल्लाबाट भने क्षतिको खबर प्राप्त भएको छैन ।

हावाहुरीको प्रभाव भलुही, पुरैनिया परसौन, बिजवनिया लगायतका स्थानमा देखिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख सानुराम भटटराइले जानकारी दिए ।

घाइतेहरुलाई उद्दार गरेर वीरगञ्ज पुर्याइएको छ । नारायणी लगायतका अस्पतालमा बेडको अभाव भएकाले भुईँमै राखेर उपचार भइरहेको छ ।

अधिकारीहरुका अनुसार मृतकको संख्या बढ्न सक्ने अनुमान छ । इँटा भट्टा, पर्खाल भत्किएर मानिस पुरिएको आशंका गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गर्दै उद्दारमा जुट्न र उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन् ।

प्रकाशित मिति : सोमवार, चैत्र १८, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology