पूर्व कोषाअध्यक्षको निधन भएपछि भाेलीबाट हुने कांग्रेसकाे जागरण अभियान दुई हप्ता पर सर्‍यो

काठमाडौँ-पुर्वकोषाअध्यक्ष रामकृष्ण ताम्राकारको निधनको कारण भोलिदेखि सुरु गर्न लागिएको नेपाली कांग्रेसको जागरण अभियान दुई हप्ता पर सरेको छ।

ताम्राकारको निधनपछि मंगलबार बेलुका आकस्मिक बसेको केन्द्रीय समितिको बैठकले जागणरण अभियान वैशाख २५ गतेदेखि सुरु गर्ने निर्णय गरेको नेता नविन्द्रराज जोशीले जानकारी दिए।

कांग्रेसले २०७६ साल भरी नै तीन चरणमा जागरण अभियान सञ्चालन गर्ने र पहिलो चरणको अभियान वैशाख ११ गतेदेखि सुरु गर्ने निर्णय गरेको थियो।

पूर्व कोषाध्यक्ष रामकृष्ण ताम्राकारको मंगलबार दिँउसो ललितपुरको अल्का अस्पतालमा स्वास्थ्य उपचारको क्रममा निधन भएको हो । ताम्राकार निमोनिया तथा क्यान्सरबाट पीडित हुँदै आएका थिए।

अन्तिम श्रद्धाञ्जलीका लागि ताम्राकारको शव बुधबार बिहान १०ः३० बजेदेखि १ बजेसम्म पार्टी कार्यालयमा राख्ने निर्णय गरेको छ । श्रद्धाञ्जलीपछि बुधबार नै ताम्राकारको शव पशुपति आर्यघाटमा अन्त्यष्टि गरिनेछ।

ताम्राकार २०४८ र ५६ मा रुपन्देही-२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनले स्वास्थ्य मन्त्रालय र उद्योग, बाणिज्य मन्त्री भएका थिए।