विद्यार्थीको भविष्य निर्माण गर्न यस्तो उपाय, कक्षा ८ को परिक्षा एसइइ ‘मोडल’ मा संचालन

प्रभाव न्यूज डटकम, खोटाङ –  भनाई छ, शिक्षा मानिसलाई बाटो देखाउने एउटा मार्ग हो । शिक्षा ग्रहण गर्नको लागि कुनै उमेर, जात, लिङ्ग, धर्म संस्कारले छेक्न सक्दैन । मानिसले कोक्रोदेखि चिहानसम्म शिक्षा हासिल गरिरहेको हुन्छ । पूर्णरुपले कसैले कहिले पनि शिक्षा ग्रहण गरेको हुदैन । शिक्षाकै कारण नै यो संसार छ । यदि शिक्षा नभएको भए यो संसार हुदैनथ्यो । सायद शिक्षा नभएको भए यो संसार अन्धकार भित्र गुन्जिरहन्थ्यो होला ।

मुलुकमा स्थानीय तह आएपछि कतिपय स्थानीय तहले शिक्षालाई पहिलो प्रथामिकतामा राखे तर, काम र कार्यन्वयनमा भने मन लगाएनन् । कति स्थानीय तहले शिक्षालाई नै अव्वल पनि बनाईरहेका छन् ।

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले कक्षा ८ को पालिकास्तरीय परिक्षा संचालन एसइइ परिक्षा जस्तो गरेर गरायो ।
आईतबारबाट सुरु भएको परिक्षामा आधारभुत र माविगरी १९ वटा विद्धालयमा अध्ययनरत कक्षा ८ का ४ सय ७२ विधार्थीलाई गाउँपालिकाले एसइइ मोडलमा परिक्षा सञ्चालन गरेको छ । जिल्लामै पहिलो पटक उक्त गाउँपालिकाले होम सेन्टर नराखी परिक्षा सञ्चालन गरेको छ ।

शिक्षालाई थप मजबुत बनाउनका लागि तीनवटा विद्धालयमा दुई / दुई र अन्यमा एक–एक परिक्षा केन्द्र निर्धारण गरेर परिक्षा सुरु गरिएको छ ।

परिक्षाका लागि विषयगत समितिबाट नमुना प्रश्नपत्र जम्मागरी पुनः त्यसबाट पनि छनौट गरेर गाउँपालिकाले निर्माण गरेको प्रश्नपत्रमै परिक्षा सञ्चालन गरिएको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका शिक्षा संयोजक तुलसी कुमार खड्काले बताए ।

परिक्षाका लागि महेन्द्रोदय मावि ओख्रेमा, महेन्द्रोदय मावि याम्खा र पञ्चकन्या आधारभुत विद्धालय बोफ्लु डाडाँगाउँ, जनता मावि बतासेमा, राम्चे निकेतन मावि इजारा बतासे र महेन्द्रतारा आधारभुत विद्धालय मुलाबारी बतासे तथा शान्ती मावि छोरम्बुमा, याङसोला मावि छोरम्बु र शान्ती निकेतन मिनाकर्ण मावि छोरम्बुका विधार्थीले परिक्षा दिएका छन् । अन्यमा भने होम सेन्टर नरहनेगरी परिक्षा सञ्चालन भईरहेको छ ।

आगामी १८ गते परिक्षा सकिनेछ । १९ गते उत्तरपुस्तिका संकलन, २० गते उत्तर पुस्तिका कोडिङ, डिकोडिङ र २१ गतेदेखी विषयगत शिक्षकलाई राखेर उत्तर पुस्तिका परिक्षण गरिनेछ । उत्तर पुस्तिका परिक्षणका लागि ७ सदस्यीय परिक्षा उपसमिति गठन गरिएको छ ।

परिक्षा उपसमितिले शिक्षकलाई खटाउनेछ । शिक्षा संयोजक खड्काले भन्नुभयो, ‘उत्तर पुस्तिका जाँच गर्ने शिक्षकले कुन विद्धालयको कुन विधार्थीको उत्तर पुस्तिका भन्ने नै थाहा पाउदैन सो कारण पनि परिक्षाको नतिजामा गडबढी हुन्न ।’

परिक्षामा उतिर्ण विधार्थीलाई गाउँपालिकाले प्रमाणपत्र दिने व्यवस्था मिलाएको छ ।