डढेलो पिडित परिवारलाई राहत

प्रभाव न्युज खोटाङ -खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले डढेलो पिडित चार परिवारलाई राहत प्रदान गरेको छ । गत चैत्र १ गते स्थानीय गढीथुम्का र कासेघडेरी सामुदायीक वनमा लागेको डढेलोले घर जल्दा विस्थापित भएका रावाबेँसी गाउँपालिका–५ दुबेकोल घलेगाउँका गोपाल पाण्डे, भीम पाण्डे, युवप्रसाद पाण्डे र ऐसेलुखर्क गाउँपालिका–७ माक्पाका तोमबहादुर निरौलालाई राहत रकम प्रदान गरेको हो । डढेलोले घर जलेपछि कष्टकर जीवन विताइरहेका अग्नी पिडितलाई प्रतिपरिवार ५ हजारका दरले राहत प्रदान गरिएको खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषका कोषाध्यक्षमा युगसन किरातले बताउनुभयो ।

आगलागीमा सर्वस्व गमाएरका डढेलो पिडितको सहज जीवनयापनका लागि राहत प्रदान गरिएको खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले जनाएको छ । खोटाङ समाज हङकङको पहलमा स्थापित २० लाखको कोषको व्याजबाट अग्नी पिडितलाई राहत प्रदान गरिएको हो । घलेगाउँका अग्नी पिडितमध्ये अभिकेशर पाण्डे भने बसाई सरिसकेकाले राहत दिनबाट छुटेको कोषाध्यक्ष किरातले बताउनुभयो ।