अपडेट: दुबेकोलबाट सुरु भएको डढेलोले माक्पामा पुगेर लियो उग्र रुप, अग्नी रेखा बनाएर निभाउँने प्रयास जारी

माक्पाको जंगलमा लागेको डढेलो

प्रभाव न्यूज डटकम संवाददाता, खोटाङ- खोटाङको रावाबेंसी गाउँपालिका–५ दुबेकोलस्थित गढीथुम्का तथा कासेघडेरी सामुदायिक वनबाट सुरु भएको डढेलोले माक्पामा उग्र रुप लिएको छ । आज दिउँसोबाट लागेको डढेलोले ऐसेलुखर्क गाउँपालिका–७ माक्पास्थित लेवाडाँँडामा पुगेर उग्र बनेको हो ।

दुबेकोलबाट सुरु भएको डढेलोकोे लप्का पार गरी ऐसेलुखर्क गाउँपालिका–७ माक्पाका तोमबहादुर निरौला र पहलमान निरौलाको घर समेत जलिसकेको छ । डढेलोले स्थानीय भानसिं सामुदायीक वन र भिरगाउँ सामुदायिक वन जलेर नष्ट भएको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताए । ‘हावाहरीका कारण आगोले एकदमै उग्र रुप लिएको छ, निभाउन जान सक्ने अवस्था छैन । अरु घर समेत जोखिममा परेको छ,’ प्रमुख निरौलाले भने, ‘ सेना र प्रहरी झिकाएर निभाउने प्रयास भइरहेको भए पनि जनशक्ति कम छ ।’

भिषण डढेलोले रावाबेँसी गाउँपालिका–५ दुबेकोलस्थित घलेगाउँका गोपाल पाण्डे, युवराज पाण्डे, अविकेसर पाण्डे र भीम पाण्डेको घर जलिसकेको रावाबेँसी गाउँपालिकाका प्रमुख लिलानाथ निरौलाले जानकारी दिनुभयो । दुबेकोलामा नेपाली सेना, प्रहरी, स्थानीय र जनप्रतिनिधिले मानव वस्तीमा आउने वाटोमा केही मात्रामा आगोलाई नियन्त्रणमा लिएको छ ।