सोमवार, साउन ६, २०७६
Monday, Jul 22, 2019
Prabhav News

दुई हजार आठ सय १० किलोमिटरको दूरी तय गर्दै राप्रपा यात्रा काठमाडौंमा



दुई हजार आठ सय १० किलोमिटरको दूरी तय गर्दै राप्रपा यात्रा काठमाडौंमा

काठमाडौं – कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वको ताप्लेजुङबाट सुरु गरेको हिन्दु राष्ट्र पुनर्स्थापनाको लक्ष्य सहितको १५ दिने जनसंघर्ष अभियान पश्चिमको कञ्चनपुर हुँदै काठमाडौं आइपुगेको छ ।

हिन्दु राष्ट्र पुनर्स्थापनाको मुख्य मागसहित राप्रपाले १५ फागुनबाट ‘मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ सुरु गरेकोमा १ सय ५२ सभा सकेर बुधबार काठमाडौं आइपुगेको हो ।

राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले हिन्दु राष्ट्र पुनर्स्थापनाको लक्ष्य सहित सुरु गरिएको जनसंघर्ष अभियान १ सय ५२ सभा सकेर बुधबार राजधानी आइपुगेको जनाए ।

उनले अभियान अन्तर्गत २ हजार ८ सय १० किलोमिटरको दूरीको यात्रा तय गर्दै अभियान राजधानी भित्रिएको जनाएका हुन् ।

‘हिन्दुराष्ट्र पुनर्स्थापना र राजा सहितको प्रजातन्त्रको लक्ष्य सहित सुरु गरिएको यात्रामा व्यापक जनसमर्थन देखियो, यस अभियानले राप्रपालाई हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि थप उत्साह मिलेको छ ।’ प्रचार विभाग प्रमुख श्रेष्ठले भने ।

उनले शुक्रबार चैत १ गते राजधानीको भृकुटीमण्डपमा व्यापक जनसहभागीता सहितको कार्यक्रम आयोजना गरि अभियान समापन गरिने जनाए ।

राप्रपाले हिन्दु राष्ट्र पुर्नस्थापनाको मागसहित ७ फागुनबाट जनसंघर्ष गर्ने निर्णय गरेको थियो । जनसंघर्षका कार्यक्रम अन्तर्गत ७ फागुनमा केन्द्रमा प्रधानमन्त्री, प्रदेशको राजधानीमा मुख्य मन्त्री र जिल्लामा प्रमुख जिल्ला अधिकारीलाई राप्रपाले ज्ञापनपत्र बुझाइ सकेको छ ।

भ्रष्टाचार, महँगी, हत्या, हिंसा, जातीय विभेछ, छुवाछुत अन्त्य सहित हिन्दु राष्ट्र स्थापना र राष्ट्रियताको रक्षाको मागलाई समेटेर राप्रपाले अभियान सुरु गरेको हो ।

यस्तै वाइडबडी प्रकरण, ३३ किलो सुन काण्ड, एनसेलको कर प्रकरण, बुढीगण्डकी काण्ड लगायतमा छानवीन गर्न र दोषीलाई कार्वाही गर्न समेत माग गर्दै आएको छ । राप्रपाले शान्तिपूर्ण जनसंघर्षको स्वरुप सहित विस्तृत कार्यक्रम छिट्टै घोषणा गरिने समेत जनाएको छ ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन ३०, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology