बुधबार, भदौ ४, २०७६
Wednesday, Aug 21, 2019
Prabhav News

जनमतसंग्रह होइन संविधान संशोधन आवश्यक : कांग्रेस



जनमतसंग्रह होइन संविधान संशोधन आवश्यक : कांग्रेस

काठमाडौं -प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तराई मधेसमा देखिएको असन्तुष्टि समाधानको सबैभन्दा उत्तम विकल्प संविधान संशोधन नै भएको बताएको छ ।

सरकार र स्वतन्त्र मधेस गठबन्धनबीच गत २४ फागुनमा भएको ११ बुँदे सहमतिका केही बुँदाले विखण्डनको आकांक्षालाई लोकतान्त्रिक विधिबाट हल खोज्ने गरी राज्यकै तर्फबाट वैधानिकता दिएको कांग्रेसको ठहर छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसले तराई मधेसको असन्तुष्टिको सम्बोधन संविधान संशोधनबाट नै हुने प्रस्ट पारेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले तराई–मधेसमा रहेको असन्तुष्टि हल गर्ने मूल बाटो संविधानमा आवश्यक संशोधन नै भएको बताए ।
प्रवक्ता शर्माले पत्रकार सम्मेलनमा भने, ‘तराई–मधेसमा रहेको असन्तुष्टि हल गर्ने मूल बाटो संविधानमा आवश्यक संशोधन नै हो, कांग्रेस विगतदेखि नै यसमा प्रस्ट छ ।’

उनले सम्झैताका ११ वटा बुँदाभित्र संविधान संशोधनको विषय उल्लेख नभएको भन्दै विगतको कांग्रेस नेतृत्वको सरकारले संविधान संशोधनको प्रस्ताव संसद्मा प्रस्तुत गरेको तर वर्तमान प्रधानमन्त्रीले त्यसलाई राष्ट्रघातको संज्ञा दिएकाले यतिबेला ‘संविधान संशोधनको त्यो प्रस्ताव राष्ट्रघाती कि जनमतसंग्रहको यो सम्झौता राष्ट्रघाती ?’ भन्ने प्रश्न उब्जिएको बताए ।

प्रवक्ता शर्माले सरकार र स्वतन्त्र मधेस गठबन्धनबीच भएको सम्झौताको पहिलो बुँदाले पृथकतावादी बाटोमा हिँडेका व्यक्ति र समूहलाई मुलुकको अखण्डता स्विकारेर मूलधारमा आउन सहमत गराएको सन्देश दिए पनि दोस्रो बुँदाले पहिलो बुँदालाई खण्डन गरेको दाबी गरे ।

‘पहिलो बुँदाले पृथकतावादी बाटोमा हिँडेका व्यक्ति र समूहलाई मुलुकको अखण्डता स्विकारेर मूलधारमा आउन सहमत गराएको सन्देश दिएको छ, त्यो स्वागत योग्य छ तर सँगैको दोस्रो बुँदाले पहिलो बुँदालाई खण्डित गरेको मात्रै होइन, विखण्डनको आकांक्षालाई लोकतान्त्रिक विधिबाट हल खोज्ने गरी राज्यकै तर्फबाट वैधानिकता दिएको छ,’ शर्माले भने ।

कांग्रेसले सम्झौतामा भनिएको ‘तराई–मधेसलगायत देशका कतिपय स्थानमा रहेका असन्तुष्टिलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भएका छौं’ भन्ने पंक्तिको तत्काल साझा व्याख्या सत्ता पक्ष र गठबन्धनबाट गरिनुपर्ने समेत बताएको छ ।
सहमतिमा भनिएको ‘जनमतमा आधारित लोकतान्त्रिक विधि’ को गहिरो नभई सामान्य व्याख्या पनि जनमत संग्रह नै भएको कांग्रेसको ठहर छ । उनले यो वा त्यो कुनै षड्यन्त्रको तहमा सरकार फसेको होइन या सरकार स्वयं राष्ट्रघाती षडयन्त्रमा सहभागी होइन ? भन्दै सरकारसँग प्रश्न समेत गरेको छ ।

कांग्रेसले सो विषयमा प्रस्ट पार्न सरकारलाई दुई विकल्पसमेत दिएको छ । कि सम्झैतालाई तत्काल सच्याउने कि दुवै पक्षको संलग्नतामा यसको साझा व्याख्या सार्वजनिक गर्ने भन्दै कांग्रेसले सरकारलाई सम्झौता सच्याउन बाटो देखाएको हो ।

सम्झौतापछि जनकपुरमा स्वतन्त्र मधेसको ब्यानरसहित सीके राउतको उपस्थितिमा प्रदर्शन भएको तर सरकारले केवल सामान्य प्रतिक्रिया मात्रै जनाएको भन्दै कांग्रेसले साझा मत निर्माण गर्न गम्भीर पहलकदमी नगर्नु रहस्यमय भएको समेत बताएको छ ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन ३०, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology