बुधबार, भदौ ४, २०७६
Wednesday, Aug 21, 2019
Prabhav News

कविता : रातो गुलाफ



कविता :  रातो गुलाफ

प्रिय, नमस्कार !
प्रेमिल युगान्तकारी दिनमा
सम्बोधन गर्नै पर्ने हो –
“रातो गुलाफी समामी” !
भन्ने आँट आएन तर ।
मुटुभर मीठा सपनाका भारी
हजारौँ कथाहरु कल्पदै
एक जीवन्त इतिहास रच्ने
अठोट बोकेर तिमीसामु आउँदा
कायर भएको छु र भन्न सकिन–
रातो गुलाफी सलाम !
मलाई माफ गर्नु, प्रिय !
अचेल रातोदेखि भयङ्कर डर
खुब संकोच लाग्न थालेको छ
रगत रातो छ ।
रगत देखि नै डर लाग्छ धेरै
रगतको होलीदेखि हारेको छु म ।
लाल सलाम र रक्तीम सलाम
यी राता क्रान्तिहरुबाट
झनै डराउँछु आजभोलि ।
राता चिजहरुले पीडा दिन्छन धेरै
जस्तै ः रातो सिन्दुर पुछिँदा ।
हिजो लाल सलाम गुञ्जाउने ओठहरुले
छिमेकीको जयजयकार भजन गाउँछन अचेल ।
पोहोर रक्तीम सलाम उठाउने मुठ्ठीहरु
पराया भूमिको बालुवा उठाउँदै सिँचित
गर्दैछन चुहाउँदै पसिना निधारबाट आजभोलि
लाल टिका दज्र्यानी पाएको निधार थियो त्यो ।
लाल सलामीमा फर्फराउने राता झन्डाहरु
छिमेकी दलानमा भिख माग्ने झोली भएका छन ।
आजभोली सबै यस्तै भएको, प्रिय !
अमर हुन्छु भन्ने लाल सलामी राता सपनाहरु
शहरको महलमा बास बसेको बिहान मृत भेटिए ।
हिजोका राता सपनाहरुले खेलवाड गरेपछि
डर र शंकैशंका छ रातामाथि ।
रातो गुलाफ चुडेर राता प्रेमिल सपना देख्नु छैन अब ।
भन्न देऊ – भनोस – काँतर मलाई ।
तिमी पनि रातो गुलाफ बोकेर नआउनु
मात्र, एक अँजुली मुस्कान ल्याउनु ।
म एक मुठ्ठी माया ल्याउँछु ।
होस, अब बन्नु छैन अमर !
भन्न सकिनँ, “रातो गुलाफी सलाम” !
प्रिय, नमस्कार !

निरब राई
दिप्रुङ चुइचुम्मा – ३, छोरम्बु याङ्सोला

प्रकाशित मिति : बिहिबार, फाल्गुन २, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology