खोटाङमा ट्याक्टर दुर्घटना, तीन जनाको मृत्यू, एक घाईतेलाई हेलीकोप्टरमार्फत काठमाडौं पठाईयो

प्रभाव न्यूज डटकम संवाददाता, खोटाङ, पुस ८ – खोटाङमा ट्याक्टर दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ ।

दिक्तेलबजारबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा जाँदै गरेको को २ त ५६६० नम्बरको खाली ट्याक्टर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको कालीखोलामा दुर्घटना हुँदा निर्मलीडाँडाका ट्याक्टर चालक तथा ट्याक्टर धनी ३५ वर्षीय मिनप्रसाद लुईटेल, सोही ठाउँका २१ वर्षीय माईकल राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका १८ वर्षीय खेमराज भुजेलको मृत्यु भएको हो ।

लुईटेल र राईको घटनास्थलमै तथा भुजेलको जिल्ला अस्पतालमा उपचारकोक्रममा आईतबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताउनुभयो ।

दुर्घटनामा गम्भीर घाईते भएका निर्मलीडाँडाका २१ वर्षीय दुर्गाबहादुर लुईटेलको अवस्था चिन्ताजनक छ । उनलाई हेलीकोप्टरबाट काठ्माण्डौं पठाईएको छ ।

ट्याक्टर सडकबाट करिब २ सय मिटर तल खसेको थियो । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।