दशैंलाई रक्सीका तालमा मनाउँदा यस्ता घटे खोटाङमा घटना : सवैभन्दा बढी ज्यान मार्ने उद्योगका मुद्धा प्रहरीमा दर्ता

उत्तम चौलागाँई

खोटाङ, कात्तिक ६ । दशैंको समयमा रमाईलो गर्ने बहानामा मादक पदार्थ सेवन गरेर खोटाङमा विभिन्न घटना घटार्ईएका छन् । मादक पदार्थ सेवन गरेर घटाईएका घटनामध्ये सवैभन्दा बढी ज्यान मार्ने उद्योगका घटना रहेका छन् ।

फुलपातीदेखी यो समाचार तयार पार्दासम्म जिल्ला प्रहरी कार्यालय खोटाङमा पाँच वटा मुद्धा दर्ता भएका छन् । जसमध्ये चार वटा ज्यान मार्ने उद्योगका र एउटा जवरजस्ती करणीको मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी प्रवक्ता तथा प्रहरी निरिक्षक धुव्रनारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार,“अधिकांस घटनाको प्रकृति हेर्दा मादक पदार्थ सेवन गरेर घटना घटाईएको पाईएको छ ।”

कात्तिक २ गते विजया दशमीका दिन दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाका २२ वर्षका किशन श्रेष्ठलाई मादक पदार्थ सेवन गरेर ९ जनाले निर्घात कुटपीट गरेको र २ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । कुटपीटबाट घाईते भएका श्रेष्ठको काठमाण्डौंमा उपचार भईरहेको जनाईएको छ । कुटपीटमा संलग्न अन्यको खोजीकार्य भईरहेको प्रहरीको भनाई छ ।

यस्तै, कात्तिक २ गते नै हलेसी तुवाचुङ नगरपालिका वडा–३ च्यास्मीटारमा बस्ने दिपेन राईले मादक पदार्थ सेवन गरि सोही ठाँउ बस्ने गोपाल राई र लघुधन राईलाई धारिलो हतियार प्रयोग गरेका छन् । धारिलो हतियार प्रयोग भएपछि गम्भिर घाईते भएका दुवै जनाको ओखलढुङगास्थित मिसन अस्पतालमा उपचार भईरहेको छ । धारिलो हतियार प्रयोग गर्ने राईलाई पक्राउ गरि ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरेर कारवाही प्रकृया अघि बढाईएको प्रहरीले जनाएको छ ।

यस्तै, कात्तिक ४ गते ऐसेलुखर्क गाउँपालिका वडा नम्बर–३ ऐसेलुखर्क बस्ने सन्तोष दहालले सोहि ठाँउका मनोज राईलाई समान्य विवादमा छुरा प्रहार गरेर गम्भीर घाईते बनाएका थिए । गम्भिर घाईते राईलाई हेलीकोप्टरमार्फत सोहि दिन काठमाण्डौं लगिएको र राईको क्रिष्ट अस्पातालमा उपचार भईरहेको जनाईएको छ । छुरा प्रहार गर्ने दाहालले पनि मादक पदार्थ सेवन गरेको अवस्थामा नै प्रहरीले नियन्त्रणमा लिएर ज्यान मार्ने उद्योगमा कारवाही अघि बढाएको छ ।

यस्तै, कातिक ३ गते दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नम्बर–२ डाँडागाँउ वस्ने १७ वर्षकी एक यूवतीलाई पाँचथर फिदिम नगरपालिका वडा नम्बर– ८ घर बताउँने राजेन्द्र लिम्बुले मादक पदार्थ सेवन गरि जवरजस्तीकरणी गर्न खोजेको मुद्धा प्रहरीमा परेको छ । आफन्तकोमा दशैंको टिका लगाउँनका लागि आएका लिम्बुले यूवतीमाथी जवरजस्ती गर्न खोजेको आफन्तको भनाईको आधारमा लिम्बुलाई पक्राउ गरि जवरजस्तीकरणी उद्योगमा मुद्धा दर्ता गरेर कारवाही प्रकृया अघि बढाईएको प्रहीले जानकारी दिएको छ ।

आफन्तलाई जवरजस्ती गरेको भन्दै पीडक लिम्बुमाथी सोहि दिन खुकुरी प्रहार पनि भएको प्रहरीले बताएको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नम्बर–२ डाँडागाँउ वस्ने वर्ष १७ की उक्त यूवतीलाई जवरजस्ती करणी गर्न खोज्ने लिम्बुमाथी मादक पदार्थ सेवन गरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर– ४ खाल्ले घर भएका सुमन राईले खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहार गर्ने राईलाई पनि नियन्त्रणमा लिएर ज्यान मार्ने उद्योगमा कारवाही अघि बढाईएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।