म्यूजिक भिडियोमा ‘दिक्तेल बजारको’

प्रभाव न्युज डटकम संवाददाता खोटाङ । खोटाङका लोक गायक धर्मराज पोखरेलको ५ वटा गीतको म्यूजिक भिडियो छायांकन गरिएको छ । रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क घर भई हाल बुढानिलकण्ठ नगरपालिका–८ काठ्माण्डौं बस्दै आएका लोक गायक पोखरेलको पुरानो तथा नयाँ लोक दोहोरी गीतको भिडियो छायांकन एकैसाथ गरिएको हो । ‘जयराम घाटैमा’, ‘खोटाङ दिक्तेल बजारको’, ‘शंका लागे गाउँघरमा सोध्न पाईन्छ’, ‘हरहर महादेब’ र ‘आउन पाइन माइतीको आँगन’ बोलको गीतको छायांकन शनिबार सकिएको लोक गायक पोखरेलले बताए ।
सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, सिन्धुली लगायतका ठाउँमा छायांकन गरिएको म्यूजिक भिडियोमा अनिल राना, सुजन सुर्खेती, निशा कार्की लगायतको अभिनय रहेको छ । लोक गायक पोखरेलको निर्देशन रहेको भिडियोमा स्वयं पोखरेलकै अभिनय पनि देख्न सकिने छ । केही गीतको दृश्या दिक्तेलको हेलीप्याड, मुढे, मझुवागढी लगायतका ठाउँबाट कैंद गरिएको छ । ‘हरहर महादेब’ बाहेक अन्य गीत लोक दोहोरी गीत हुन् ।
‘आउन पाइन माइतीको आँगन’ बोलको गीत तीजलाई लक्ष्यीत गरी तयार पारिएको गायक पोखरेलले बताए । २०४८ सालमा रेडियो नेपालको चौतारीमा गाउँदै सांगीतिक यात्रामा लागेका पोखरेलका ‘उँडी जाने जेट, शिर–शिर वतास, पुर्व धरान, पश्चिम पोखरा लगायतका १९ वटा गीत बजारमा आइसकेका छन् । पेशाले ईन्जिनियर पोखरेल राजनितीकर्मी पनि हुन् । केही समयअघि यूटुबमा राखिएको ‘लाखौं हजारमा’ बोलको लोकदोहोरी गीतको म्यूजिक भिडियोको भ्यूअरले उत्साहित बनाएको पोखरेलले बताए ।

क्याप्सन :दिक्तेलको हेलीप्याडमा म्यूजिक भिडियो सुटिङकाक्रममा नृत्य गर्दै कलाकार । तस्बिर सौजन्य : पत्रकार दमन राई