“एकल प्रयासले दर्जन बढी योजना”

प्रभाव न्युज संवाददाता
खोटाङ, ६ जेठ । खोटाङको जन्तेढुङगा गाउँपालिका–५ चिसापानी स्थायी घर भएका हाल काठमाण्डौंमा बस्दै आएका बिधार्थी नेता बाजिन्द्र विष्टले जिल्लाको विकासका लागि दर्जन भन्दा बढी योजना संचालनका लागि पहल गरेका छन् ।
यस आर्थिक वर्षमा विष्टले जन्तेढुङगा गाउँपालिका–५ (साविक २,५) खुट्टा बितलवका लागि २ करोड ३१ लाखको सउर खोला सिंचाई योजना संचालनका लागि वजेटको व्यवस्थापन गराएका छन् ।
यस्तै, जन्तेढुङगा गाउँपालिका–५(साविक चिसापानी ४) स्थित काभ्रेखोलाको देविथान मुहान कटहरे कुलो चिसापानी खुट्टा बस्तीकोे लागि १ करोड ६६ लाखको सिंचाई आयोजना संचालन गर्न बजेट विनियोजन गराएका छन् । सिंचाई मन्त्रालयमार्फत त्यस बस्तीमा कृषि खेतिका लागि उक्त योजना ल्याएका हुन् ।

यस्तै, खोटेहाङ गाउँपालिका वडा नम्बर–४ बड्कादियाले र जन्तेढुङगा गाउँपालिका वडा नम्बर–४ को डम्वर्खुशिवालय जोड्ने दुम्छाखोला दोभानमा पक्की पूल निर्माणका लागि पहल गरेको पनि विष्टले जनाए । भौतिक मन्त्रालय पक्की पूल महाशाखा चाकुपाट ललितपुरमा पूर्व सांसद सरस्वती बजिमयको साथमा उक्त पूल निर्माणको लागि बजेट व्यवस्थापन गराएको उनको भनाई छ । उक्त पूलको बैशाखमा नै डिटेल सर्वे गरि सकिएको छ ।

 बिधार्थी नेता बाजिन्द्र विष्ट  ।

यस्तै, जन्तेढुङका गाउँपालिका वडा नम्बर ५ खुटा बगैचा, वडा नम्बर ४ डम्बरर्खुशिवालय, वडा नम्बर–३ काहुले हुदै वडा नम्बर –२ बोपुङसम्मको विद्युत विस्तारका लागि ८ लाखको योजना उर्जा मन्त्रालयमार्फत योजना प्राप्त गराएको विष्टले जानकारी दिए ।
जन्तेढुङ्गा गाउँपालिका–५ र खोटेहाङ गाउँपालिका– ७ खोटाङबजारमा पर्ने सावाखोलामा तटबन्धन निर्माणका लागि ५ लाखको बजेट विनियोजनको पनि उनले व्यवस्थापन गराएका छन् ।

यस्तै, जन्तेढुङगाको काभ्रेखोला देविथान मुहान कटहरे कुलो र माथिल्लो कटहरे कुलो गरगरे संरक्षणका लागि रू ५ लाख बजेटको व्यवस्थापन भएको उनले जनाए ।
विष्टको पहलमा चिसापानी–४ खानेपानी योजनाको ४ वटा मुहान सर्वे सम्पन्न भईसकेको जनाईएको छ । विष्टले जन्तेढुङगा ४ र खोटेहाङ ४ जोडने काभ्रेखोला दोभानमा झोलुङगे पूल निर्माणका लागि पनि बजेटको व्यवस्थापन गराएको र १५ दिन भित्र सर्वेक्षण गराउने प्रतिवद्धता राखेका छन् । दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नं. ७ ज्यामिरे र साकेला गाउँपालिका वडा नं. ५ मात्तिम डाँडाटोलमा झोलुङगे पूल निर्माणका लागि पनि सर्वेक्षण १५ दिन भित्र सम्पन्न हुनेछ ।

विष्टले जिल्लाको विकासका लागि दर्जन भन्दा बढी योजना संचालनका लागि पहल गरेका योजना ।

गाउँको विकासका लागि विभिन्न बिकासे मन्त्रालय धाएर सयौका योजनाका लागि “प्रपोजल” पेश गर्दै निरन्तरको प्रयास पछि योजना पास गराउँने गरेको विष्टले प्रभावन्युजलाई जानकारी दिए ।
आगामी दिनमा पनि खानेपानी, सडक, सिंचाई जस्ता विकासका कार्यमा निरन्तर लागिरहने उनी बताउँछन् । उनले २०७१ सालमा आफू कक्षा १० सम्म अध्ययन गरेको बिधालय जन्तेढुङगा गाउँपालिकाको चिसापानी उ.मा.विलाई एकलाख बराबरको ४७५ थान पुस्तक काठमाण्डौमा संकलन गरेर हस्तान्तरण गरेका थिए । विष्ट नेपाली कांग्रेसको भातृ संगठन नेपाल विधार्थी संघका नेता हुन् ।