उदयपुरमा अवैध रुपमा गिट्टी बालुवा व्यापक उत्खनन, देउरी गाउँ जोखिममा

उदयपुर, ३१ बैशाख । उदयपुर र त्रियुगा नगरपालिका वडा नं. ८ र ९ को विचमा बग्ने सरस्वती खोलाको गिट्टी बालुवा अवैध रुपमा उत्खन्न गर्दा उत्तर टोल देउरी गाउँ नै जोखिममा परेका छन् । बैकल्पिक राजमार्ग निर्माण कम्पनी जेडआईइसी लामा एण्ड शर्मा जे.भि.ले अवैध रुपमा सरस्वती खोलाको गिट्टी बालुवा उत्खन्न गर्दा बाढीले धमाधम कटान गरिरहेपछि उत्तर टोल देउरी गाउँ नै जोखिममा परेका छन् भने अर्कोतर्फ डुवानको समस्या आएको छ ।
सरस्वती खोलाको उत्तरपट्टिको साइडमा मात्रै बाँध निर्माण भएको र दक्षित तर्फका गिट्टी बालुवा धरान–चतरा–गाईघाट–सिन्धुली–हेटौंडा सडक निर्माण जेडआईइसी लामा एण्ड शर्मा जे.भि. ठेक्केदार कम्पनीले अवैध रुपमा उत्खन्न गर्दा उत्तर टोल देउरी गाउँ बाढीको कटानले गाउँ जोखिममा परेको स्थानीय गुनानन्द चौधरीले बताए । उनका अनुसार सरस्वती खोलाको गिट्टी बालुवा अवैध रुपमा जेडआईइसी लामा एण्ड शर्मा जे.भि. ठेक्केदार कम्पनीले उत्खन्न गरेपछि बाढीको कटान र डुवानले गाउँले नै त्रसित भएका छन् । उनका अनुसार चार पाँच मिटर गहिराई पारेर खोलाको गिट्टी बालुवा उत्खन्न गर्दा उत्तर टोल देउरी गाउँमा बाढीको कटान र डुवानले कति खेर गाउँमा पस्छ र क्षति गर्छ भन्न नसकिने बताए ।

सरस्वती खोला उत्खन्न गर्दा समेत सम्बन्धित निकायहरुलाई जानकारी र निरीक्षण गराउँदा समेत उत्खन्न रोक्न कुनै पहल नभएको स्थानीय डिएन चौधरीको गुनासो छ । उनका अनुसार पुलिस, प्रशासन, जिल्ला समन्वय समितिको साथ साथै नगरपालिकाले पनि केही नबोलेको उनले बताए ।

सडक निर्माण कम्पनीलाई त्रियुगा खोला, बरुवा खोला, शाही खोला, द्वार खोला, लामा खोला, बैधनाथ खोला र तावा खोलाको गिट्टी बालुवा उत्खन्नको लागि जिल्ला समन्वय समितिले अनुमति दिएपनि नियम विपरित सरस्वती खोलाको गिट्टी, बालुवा निकासी गर्दा उत्तर टोल देउरी गाउँ बाढीको कटानको जोखिममा परेका हुन् । जिल्ला समन्वय समितिका संयोजक खड्गबहादुर परियारका अनुसार जेडआईइसी लामा एण्ड शर्मा जे.भि. ठेक्केदार कम्पनीलाई सरस्वती खोलाको गिट्टी बालुवा निकाल्न अनुमति नदिएको बताए ।