सर्वाधिक धनराशि रहेको अनुप स्मृति गोल्डकपको उपाधि नेर्पाले उचाल्यो !

खोटाङ, बैसाख ३१ । खोटाङमा जारी ३ लाख १६ हजार ६६६ धनराशीको अनुप स्मृति गोल्डकपको उपाधि नेर्पाले उचालेको छ । सोमबार दिक्तेलको माटिकोरे खेल मैदानमा भएको फाईनल खेलमा बुईपा सेवा समाज बुईपालाई सडेनडेथमा ६–५ गोल अन्तरले पछि पार्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाले गोल्डकपको उपाधि उचालेको हो ।

निर्धारित समयमा बराबरी २–२ गोल भएपछि भएको सडेनडेथमा नेर्पाले बुईपालाई हराएको हो । प्रतियोगीतामा बिजेता बनेको नेर्पाले नगद १ लाख ५१ हजार १११ र उपबिजेता बनेको बुईपा सेवा समाजले नगद ७५ हजार ५५५ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगिताका दुई सेमीफाईनलिस्ट भोजपुर नगरपालिका र फ्रेण्डसीप यातायात सेवालाई नगद २५-२५ हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । २०६९ साल जेठ १ गते ट्याक्टरले किच्दा ज्यान गुमाएका माउण्ट एभरेष्ट बोर्डिङ स्कुल दिक्तेलका छात्र अनुप राईको स्मृतिमा दिक्तेल फुटबल क्लव र माउण्ट एभरेष्ट बोर्डिङ स्कुलले बैसाख २६ गतेदेखि गोल्डकपको दोश्रो संस्करणको आयोजना गरेको हो ।

प्रतियोगिता अवधिभरमा नेर्पाका सुनिल तामाङ म्यान अफ दि म्याच घोषित भएका छन् । आयोजक दिक्तेल फुटबल क्लब (डिएफसी)का बर्तमान राईले सर्वाधिक गोलकर्ता, नेर्पाका बिकेश श्रेष्ठले उत्कृष्ट गोलकिपर, नेर्पाकै अर्जुन रोकाले उत्कृष्ट डिफेण्डर, बुईपाका तेज राईले उत्कृष्ट स्ट्राईकर र बुईपाकै सुजल श्रेष्ठले उत्कृष्ट मिडफिल्डर, आयोजक डिएफसीले अनुशासित टिम र नेर्पाका शरद राईले उत्कृष्ट कोचको उपाधि जितेका छन् ।

उनीहरुलाई जनही ५ हजारका दरले पुरस्कार प्रदान गरिएको प्रतियोगीताका संयोजक एबं माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका प्रिन्सिपल सागर जोशीले बताए । बिजेता टिमलाई प्रदेशसभाका सांसद रामकुमार राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, उपमेयर बिणादेबी राई लगायतले पुरस्कार प्रदान गरेका छन् । प्रतियोगितामा जिल्ला र जिल्ला बाहिरका १२ टिमले प्रतिष्पर्धा गरेका थिए ।