च्यास्मीटारमा चोरको बिगविगि :रातारात विद्युतको तार चोरी

खोटाङ । खोटाङको च्यास्मीटारमा विद्युत बिस्तारका काम भइरहेका समयमा तार काटेर चोरी भएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा र हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा विद्युत बिस्तारका लागि पोल र तार टाँग्ने काम भइरहेका समयमा तार काटेर चोरी भएको हो ।

रातका समयमा विद्युतको तार काटेर चोरी गर्ने व्यक्तीको पहिचान हुन नसकेको च्यास्मीटार–डिकुवा–बाहुनीडाँडा बिद्युत बिस्तार उपभोक्ता समितिका अध्यक्ष तुलसी तिलुङ खम्बूले बताए । च्यास्मीटारको बनपालामा दुई ठाउँमा थ्री फेज लाईनको तार काटेर चोरी भएको छ । विद्युतको तार काटेर आलमुनियमको तार छुट्याएर लगेको पाइएको अध्यक्ष तिलुङले बताए ।

सो क्षेत्रमा हलेसीबाट विद्युत बिस्तार गर्ने काम भइरहेको छ । नयाँ पोल राख्दै तार टाँगिरहेकै समयमा तार काटेर चोरी गर्नेको खोजी भइरहेको छ । अज्ञात व्यक्तीले घरायसी काममा बन्धनकारुपमा प्रयोग गर्नका लागि तार काटेर चोरी गरेको अनुमान गरिएको छ । ‘पोलमा तार राख्ने काम भइरहेको समयमा केही तार भुइँमै झुण्डिएको थियो,’ अध्यक्ष तिलुङले भने, ‘त्यही तारलाई दुई ठाउँमा टुक्राएर साना–साना तार छुट्याएर चोरी गरेछन् । दोषीको पहिचानका लागि प्रहरीलाई पनि भनेका छौँ ।’