अभिभावकत्व ग्रहणको लहर : प्रदेश सांसद उषाकलापनि बनिन् अभिभावक !

खोटाङ ।  विद्यालयमा अध्यनरात बालबालिकाको अभिभावकत्व ग्रहग गर्ने खोटाङमा लहर बढेको छ । प्रदेश नम्बर १ की सांसद उषाकला राईले एक बालिकाको अभिभावकत्व ग्रहण गरेकी छन्। सांसद राईले खोटाङको खोटेहाङ गाउँपालिका–७, खोटाङ बजारस्थित भगवती दिनानाथ माविमा कक्षा २ मा अध्ययनरत छात्रा कमला भुजेलको अभिभावकत्व ग्रहण गरेकी हुन्। सांसद राईले उक्त बालिकालाई उच्च शिक्षासम्म अध्ययन गराउने गरी अभिभावकत्व ग्रहण गरेकी हुन् ।

विद्यालयमा आयोजित कार्यक्रममा सांसद राईले बालिकालाई कापी, कलम, किताब, झोला, पोसाकलगायत प्रदान गर्दै अभिभावकत्व ग्रहण गरेकी थिइन्। निम्न आर्थिक अवस्था भएकी कमला कक्षाकी पहिलो विद्यार्थी हुन् ।

यस्तै, एमाले नेता राजन बञ्जराले पनि खोटेहाङ गाउँपालिका–४, बड्कादियालेस्थित भाषा आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत् रोजिना विश्वकर्माको अभिभावकत्व ग्रहण गरेका छन्। कक्षामा पढाइ राम्रो भए पनि आर्थिक अवस्था नाजुक भएको भन्दै विद्यालयबाट आग्रह आएपछि बञ्जराले रोजिनाको अभिभावकत्व ग्रहण गरेका हुन् ।

एसइईसम्मको अध्ययनका लागि रोजिनाको अभिभावकत्व ग्रहण गरेको एमाले जिल्ला कमिटी सदस्यसमेत रहेका बञ्जराले बताए । रोजिनका बाबुआमा मजदुरी गर्न घर छाडेर महिनौं बाहिर जाने गरेका छन्। रोजिना भने घरमा एक्लै बसेर भए पनि पढाइमा ध्यान दिँदै आएकी छन् ।

यसअघि प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले खोटेहाङ गाउँपालिका–७, खोटाङबजारकी ७ वर्षीया वर्षा तामाङ, जिल्ला समन्वय समितिका प्रमुख बबी चामलिङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५, लफ्याङस्थित श्रीमावि बाँसबोटेमा कक्षा ५ मा अध्ययनरत शिलिमिका राई र प्रमुख जिल्ला अधकिारी एकदेव अधिकारीले कक्षा ८ मा अध्ययनरत अनुशा श्रेष्ठको अभिभावकत्व ग्रहण गरिसकेका छन् ।

क्याप्सन  :छात्रा कमला भुजेलको अभिभावकत्व ग्रहण गर्दै प्रदेश सांसद उषाकला राई । तस्बिर  :पत्रकार दमन राई