जहाँ समस्या छ, त्यहाँबाट बिकासको यात्रा शुरु गर्नुपर्छ : थापा

उत्तम चौलागाँई
काठमाण्डौं, बैशाख १३ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले देश बिकासका लागि जहाँ समस्या छ त्यहाँबाट बिकासको सुरुवात गर्न जरुरी रहेको बताउँनुभएको छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविर उद्धघाटन गर्न विहीवार हेलीकोप्टरमार्फत जानुभएका थापाले देशलाई समृद्धितर्फ लैजानका लागि समस्या पक्ता लगाएर त्यसको बिकास गरेमात्र देश समृद्धितर्फ अघि बढ्ने बताउँनुभएको छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका –२ ओख्रेडाँडागाउँमा आयोजित निशुल्क स्वास्थ्य तथा घुम्ती शिविरलाई संवोधन गर्दै थापाले बिकास मान्छेका लागि भएकाले सबै भन्दा कमजोर पक्षबाट विकासको थालनी गर्नुपर्ने बताउनुभएको हो ।

देशको तीनै तहमा स्थिर सरकार बनिसकेकाले अब चाँडै विकासले गति लिने उहाँको भनाई छ । “विकासको पहिलो आधार भनेको शिक्षाको हो, हाम्रो विकासको पहिलो एजेण्डा पनि शिक्षा हुनुपर्छ ।” उहाँले भन्नुभयो, “आगामी दिनमा सबैले बराबर पढ्न पाउनुपर्छ । सबले गुणस्तर पढ्न पाउनुपर्छ । सबै आमाले कक्षा १२ सम्म पैसा भए पनि नभएपनि पढ्छ, बराबर बढ्छ भन्ने बनाउनुपर्छ ।”

हाम्रो समाजमा शिक्षासँगै स्वास्थ्य जोडिने भएकाले स्वास्थ्यलाई एजेण्डाका रुपमा राख्नुपर्ने उहाँले बताउनुभयो । “स्वास्थ्यका क्षेत्रमा दश वर्षको अवधीमा नेपालले ठूलो फड्को मारेको थापाको दावि छ ।

देशमा रेलका सपना देख्दै गर्दा, एयरपोर्ट बनाउने लक्ष्य राख्दै ३० प्रतिशत बालबालिका कुपोषित छन् भन्नेमा ध्यान चाँही कहिले दिन सरकार ? उहाँले सरकालाई प्रश्न पनि गर्नुभयो ।

स्वास्थ्य शिविरसँगै जिल्ला प्रशासन कार्यालयाट नागरिकता, जिल्ला मालपोत कार्यालयबाट जग्गा सम्बन्धीका सेवा पनि प्रदान गरिएको जनाईएको छ ।

गाउँपालिकाको आयोजनामा बैशाख १३, १४ र १५ गते बरिष्ठ विशेषज्ञ चिकित्सकको टोलीद्धारा निशुल्क स्वास्थ्य शिविर संचालन भएको हो ।
शिबिरमा स्त्री रोग, बालरोग, अर्थो, नशा, नाक, कान, घाँटी, आँखा, दात, पेट लगायतका स्वास्थ्य सम्बन्धि विभिन्न सेवा सुविधा पालिकावासीले लिन पाउने दिप्रुङ चुईचुम्मा गाउँपालिका प्रमुख भुपेन्द्र राईले बताउँनुभयो ।