प्रअको टेबलमा धम्कीपूर्ण चिठी !

खोटाङ, बैसाख १२ । अज्ञात व्यक्तीले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारस्थित च्यास्मीटार माबिको झ्याल फोडेर कागजात च्यातेका छन् । पहिचान नभएको व्यक्तीले मंगलबार राती प्रशासन कक्षको झ्याल फोडेर कोठा भित्र प्रवेश गरेर कक्षा ७ र ८ को रिजल्ट सिट च्यातचुत पारेको प्रअ दानकुमार राईले बताए ।

प्रअको टेबलमा रहेको नेम प्लेट समेत मिल्काइएको पाइएको छ । प्रअको टेबलमा फेल गराइए जागीर खाइदिने धम्की सहितको पत्र लेखेर छाडेको भेटिएको प्रअ राईले बताए । ‘मेरै नाम उल्लेख गरेर देखिस् मेरो पावर, फेल गराईस् भने जागीर उँडाइदिन्छु भनेर सानो कागजको टुक्रामा लेखेर छाडेछन्,’ प्रअ राईले भने, ‘कागजको टुक्रा प्रहरीलाई उपलव्ध गराएर अनुसन्धानका लागि अनुरोध गरेका छौँ ।’