नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दमन राईलाई खेलकुद पत्रकारिता पुरस्कार !

खोटाङ, बैसाख ८ । खोटाङ जिल्लाका नेपाल पत्रकार महासंघका अध्यक्ष दमन राई सोल्मा स्पोट्स खेलकुद पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । स्वस्थ, निष्पक्ष र स्वतन्त्र पत्रकारिताको माध्यमबाट खेलकुद क्षेत्रको बिकासमा योगदान पु-याएको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित सोल्मा स्पोर्टस् क्लवले पत्रकार राईलाई सोल्मा स्पोट्स खेलकुद पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको हो ।

‘सभ्य समाज निर्माणका निम्ति अनिवार्य खेलकुद’ भन्ने नाराका शनिबार सोल्मास्थित खेलमैदानमा सम्पन्न दोश्रो दिक्तेल रुपाकोट मझुवागढी नगरकप समापनका अवशर पारेर पत्रकार राईलाई ५ हजार ५५५ रुपैयाँ राशीको पुरस्कार प्रदान गरिएको हो ।

अध्यक्ष राईलाई सोल्मा स्पोर्टस् क्लवका अध्यक्ष ध्रुबबिक्रम राईले खेलकुद पत्रकारिता पुरस्कार राशी र सम्मानपत्र प्रदान गरेका हुन् । २०७० सालमा स्थापना भएको क्लवले गाउँमा खेल मैदान निर्माण, व्यवसायीक खेलाडी उत्पादन र समाजको सकरात्मक परिवर्तनका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।  राई नागरिक दैनिकका खोटाङ संवाददाता हुन ।

क्याप्सन  : राईलाई खेलकुद पत्रकारिता पुरस्कार प्रदान गर्दै सोल्मा स्पोर्टस् क्लवका अध्यक्ष ध्रुबबिक्रम राई । तस्बिर : प्रभाव न्यूज