धार्मिक महोत्सवबाट ६० लाखभन्दा बढी रकम संकलन !

खोटाङ, ६ बैशाख  : खोटाङमा धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा लगाईएको धार्मिक महोत्सवबाट ६० लाख ६२ हजार ३ सय ९२ रुपैयाँ सङ्कलन भएको छ । पर्यटन पवर्धनका लागि गत चैत १५ देखि २३ गतेसम्म आयोजना गरिएको धार्मिक महोत्सवबाट उक्त रकम संकलन भएको हो ।

महोत्सवमा जम्मा रकममध्येमा १७ लाख ८४ हजार ८५६ खर्च  तथा  ४२ लाख ७७ हजार ५३६ रुपैयाँ पैसा आयोजकको कोषमा रहेको कालिका मझुवा भगवती संरक्षण तथा विकास समिति अध्यक्ष पदम प्रसाद आचार्यले जानकारी दिनुभयो ।

धर्मशाला निर्माण तथा अन्य विकास निर्माणका काम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले तयार गरेको गुरुयोजनाको आधारमा गरिने बताईएको छ ।

दिक्तेलस्थित सगरमाथा होटलमा विहीवार पत्रकार सम्मेलन गर्दै महोत्सवको आयोजक कालिका मझुवा भगवती संरक्षण तथा विकास समितिले उक्त रकमबाट  कालिका भगवती मन्दिर परिसर ब्यवस्थित, धर्मशाला निर्माण र खानेपानीमा खर्च गर्ने जानकारी दिएको छ ।

प्रशिद्ध धार्मिकस्थल हलेसी आउने तीर्थालुले मझुवागढी क्षेत्रको कालिका भगवती, बुद्धेश्वर गुफा र ऐतिहासिक मझुवागढीको दर्शन नगरे तीर्थ अपूरो हुने भएकाले यहाँ आउने तीर्थालुका लागि धर्मशाला निर्माण गरिने जनाईएको छ ।