दिक्तेलमा ‘मुर्ती

नेपाल संगीत तथा नाट्य प्रतिष्ठानको कार्यक्रममा नाटक मञ्चन गर्दै कलाकार। तस्बिरः दमन राई/नागरिक

वैशाख १, खोटाङ – ‘जनता शिक्षित नभएसम्म परिवर्तन सम्भव छैन्। अशिक्षित समुहलाई आफ्नै नेताले खेलौनाका रुपमा उपयोग गरिरहने छ।’ नेपाल संगीत तथा नाट्य प्रतिष्ठानले शुक्रबार खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित सुभद्रा–मदन फाउण्डेसनमा प्रदर्शन गरेको नाटक ‘मुर्ती’को सार हो यो।

सामान्यतः नाटकमा बोली र हाउभाउका माध्यमबाट सन्देश प्रवाह गरिन्छ। तर, नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका प्रशिक्षार्थी कलाकारले आवाज ननिकाली हाउभाउकै भरमा भूमीका निर्वाह गरेका थिए। आवाज विहीन भए पनि नाटकको सार र सन्देश बताउन कलाकार सफल भए। नेता आए, आफ्नो अनुकूल हुनेगरी मुर्तीलाई उभ्याए। वकिल आए, डाक्टर आए, प्रहरी आए।

आफ्नै तरिकाले मुर्तीलाई छरपष्ट पारेर राखे। तर, अन्त्यमा आएकी शिक्षिकाले छरिएका मुर्तीलाई एक ठाउँमा उभ्याएर हातमाहात मिलाएर कलम समाउन लगाइन्। ‘शिक्षा नभएसम्म हामीलाई अरुले मनपरी उपयोग मात्र गर्छ,’ कार्यक्रमको व्यवस्थापन गरेको सुभद्रा–मदन फाउण्डेसनका कार्यकारी निर्देशक सुर्य राईले भने, ‘नाटकले शिक्षाबाट मात्र समाज परिवर्तन सम्भव छ भन्न खोजेको हो।’

सुभद्रा–मदन फाउण्डेसनको आयोजनामा भएको नृत्य, गायन, नाटक र वाद्यवादन सम्बन्धी १० दिने प्रशिक्षणको समापनको अवशरमा नेपाल संगीत तथा नाट्य प्रतिष्ठानबाट प्रशिक्षित कलाकारले ‘मुर्ती’ सहित ‘पृथ्बी’, ‘समाज’ र ‘हाम्रो घर’ शिर्षकको छोटो तर चोटिलो नाटक मञ्चन गरे। छेउमा भोकले मर्न लागेको मान्छेको उद्धारमाभन्दा मन्दीरमा फलफूल चढाएर देवता पुज्ने प्रवृत्तिलाई छर्लङ्ग बनाउन नाटक ‘समाज’ सफल भए।

पृथ्बीलाई कुरुप बनाउँदै लगेको फोहोरमैला सफा गर्ने आव्हानमा नाटक ‘पृथ्बी’ र बनजंगलको संरक्षणमा खेल्नुपर्ने भूमीकाका विषयमा नाटक ‘हाम्रो घर’को प्रस्तुतीलाई दर्शकले प्रशंसा गरेका छन्। नेपाल संगीत तथा नाट्य प्रतिष्ठानबाट प्रशिक्षित कलाकारको भूमीका ख्याती प्राप्त कलाकारकोभन्दा कम नदेखिएको प्रमुख अतिथिकारुपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए।

साँझ ६ बजेसम्म सञ्चालन भएको कार्यक्रमका दौरान राग यमन, नाचका आधारभुत चालहरू, मादल बादन, गीत, दोहोरी गीत र नृत्य प्रस्तुत गरिएको थियो। चर्चित गायक पृथी जिम्बा, भलाकाजी राई, भीमसेना राई, राजन पुर्वेली लगायतले गीतमार्फत दर्शकलाई मनोञ्जन दिलाएका थिए। साईनो कलाकेन्द्रका कलाकारको प्रस्तुती पनि उस्तै बेजोड देखिएको थियो।

नृत्य, गायन, नाटक र वाद्यवादन सम्बन्धी कलाका क्षेत्रमा क्रियाशिल नव–प्रतिभालाई विद्यागतरुपमा सक्षम बनाउने उद्धेश्यकासाथ नेपाल संगीत तथा नाट्य प्रतिष्ठानले प्रशिक्षणको आयोजना गरेको हो। प्रशिक्षणले नेपाली लोक संस्कृतिको संरक्षणमा टेवा पुग्ने फाण्डेसनका संरक्षक रहेका कृषिविज्ञ मदन राईले बताए।-नागरिक