हामीले दिन सक्ने दिइसक्यौँ, अब प्रतीक्षामा छौं- राजेन्द्र महतो

सरकारमा सहभागी हुन प्रधानमन्त्रीबाट औपचारिक प्रस्ताव आएको थियो । तर, प्रस्तावले मात्रै वातावरण बन्दैन । यसमा हामीले विगतदेखि नै भन्दै आएको प्रमुख विषय संविधान संशोधन नै हो । त्यसमा ठोस प्रस्ताव आएपछि सरकारमा सहभागी हुने वातावरण बन्छ । अाजको नयाँ पत्रिकामा लेखिएको छ- अहिलेसम्म रेशम चौधरीलाई शपथ ग्रहण गराइएको छैन । त्यसबारेमा पनि प्रस्ट भइसकेपछि सरकारमा सहभागी हुने वातावरण बन्छ ।

भनेको अहिलेसम्म ठोस कुरा केही पनि भएको छैन ?

संविधान संशोधनको विषयमा र सरकारमा सहभागी हुने दुवै विषयमा ठोस कुरा आएको छैन । संशोधनको विषयमा ठोस कुरा नआई सरकारमा सहभागीताबारे केही भन्न सकिन्न ।

अर्थात तत्काल सरकारमा सहभागी हुने संभावना छैन ?

अहिलेसम्मको वातावरण हेर्दा तत्काल सरकारमा सहभागी हुने वातावरण छैन । र त्यो संभावना देखिएको छैन । अन्योलको अवस्थामा तत्काल सरकारमा सहभागी हुने कुरा आउदैन ।

सरकारमा सहभागीताको विषयमा तपाईहरुको पार्टीभित्रै दुई धार देखिएको छ । त्यसैले संसदीय दलको नेता पनि चयन गर्न सक्नुभएको छैन नि ?

संसदीय दलको नेता चयन गर्न हामीले विधान मस्यौदा कार्यदल बनाएका छौं । त्यसले काम गरिरहेको छ । कार्यदलले विधानको मस्यौदा तयार भएपछि दलले पारित गर्छ । अनि छलफल अगाडि जाला । वैशाख ८ गते राजनीतिक समितिको बैठक पनि छ । त्यसपछि दलको नेता चयन होला । अब तपाईले भनेजस्तो दलभित्र दुईथरी विचार राख्ने नेताहरु हुन्छन् । पार्टीमा यस्तो दुई धार देखिन्छ । त्यसलाई अस्वभाविक मान्न हुदैन ।

अनि संशोधनको बारेमा के के कुरा भएको छ त अहिलेसम्म ?

संविधान संशोधनका बारेमा सरकारका प्रधानमन्त्री र मन्त्रीहरुले संसदमा पनि संशोधन औचित्यका आधारमा गर्ने भनेर बोलेका छन । सोही अधारमा हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका छौं । दुईतिहाई पनि पु-याई दिएका छौं । हामीले दिनसक्ने दिइसक्यौँ, अब प्रतिक्षामा छौं, उहाँले के दिनुहुन्छ । अहिलेसम्म हामीसँग ठोस छलफल भएको छैन, मौखिक अभिव्यक्तिबाहेक ।

तपाईहरुका पहिलाका ११ बुँदे मागमा केही तलमाथि हुन सक्छ ?

११ बुँदे बुदाँमा अहिले केही छलफल भएको छैन । ती बुदाँका बारेमा छलफल गर्छौ । छुटेका मुद्दाहरुकमा छलफल गछौं । थपघट गर्न सकिन्छ ।